नेपालको राष्ट्रिय सुरक्षा व्यवस्थापनबारे चर्चा गर्दै यसका क्षेत्रहरू उल्लेख गर्नुहोस्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रश्न : नेपालको राष्ट्रिय सुरक्षा व्यवस्थापनबारे चर्चा गर्दै यसका क्षेत्रहरू उल्लेख गर्नुहोस् ? (२+८)

राष्ट्रको विकास र रक्षाको अवधारणा
राज्य वा सरकारले आफ्नो राज्यशक्तिको प्रयोग गर्दै राजनीतिक, आर्थिक, सामाजिक तथा सैन्य क्षेत्र र शक्तिको सुदृढीकरणमार्फत राज्यलाई आन्तरिक र बाह्य चुनौतीबाट मुक्त गरी मुलुकमा सुख, शान्ति र सुव्यवस्था कायम गर्ने बहुआयामिक रणनीतिलाई राष्ट्रिय सुरक्षा व्यवस्थापन भनिन्छ । राष्ट्रिय सुरक्षा व्यवस्थापन राज्य सञ्चालनको एउटा नीति हो । यो राज्यको आधारभूत दायित्व पनि हो । नेपालको संविधान र राष्ट्रिय सुरक्षा नीति २०७३ ले पनि नागरिकको जिउधनको सुरक्षालाई प्रमुख प्राथमिकता दिएको छ । यसको अवधारणा दोस्रो विश्वयुद्धपछि सुरु भएको हो ।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, नागरिक स्वतन्त्रता, मानवअधिकारजस्ता मूल्यहरू आत्मसात् गर्दै आदर्श राज्य र सुखमय मानव जीवनको प्रत्याभूति गर्नु राष्ट्रिय सुरक्षा व्यवस्थापनको उद्देश्य हो । सुदृढ राजनीति, सबल कूटनीति, सबल सामाजिक सुरक्षा, तदारुक सैन्य शक्ति तथा मानवीय सुरक्षा राष्ट्रिय सुरक्षा व्यवस्थापनका आधारभूत तत्वहरू हुन् ।

राष्ट्रिय सुरक्षा व्यवस्थापनका क्षेत्रहरू :

क) आन्तरिक सुरक्षा व्यवस्थापन

  •     राष्ट्रियता कमजोर पार्ने जातीय, भाषिक, धार्मिक, राजनीतिक द्वन्द्वहरूको यथोचित समाधान,
  •     शान्ति तथा सुव्यवस्थामार्फत सार्वभौमसत्ताको रक्षा,
  •     सैन्य क्षेत्रको सुदृढीकरण,
  •     आधारभूत आवश्यकताको व्यवस्थापन,
  •     स्रोत–साधनको पर्याप्त परिचालन,
  •     सुरक्षा निकायहरूको क्षमता सबलीकरण,
  •     नयाँ सुरक्षा नीतिको अवलम्बन,
  •     जोखिममा परेको क्षेत्रको सशक्तीकरण,
  •     सक्रिय सुरक्षा संयन्त्रको निर्माण,
  •     राष्ट्र र राष्ट्रियतासहितको समाज निर्माण आन्तरिक सुरक्षा व्यवस्थापनका क्षेत्रअन्तर्गत पर्छन् ।

ख) बाह्य सुरक्षा व्यवस्थापन

  •     सीमा विवाद निरूपण र सोप्रतिको संवेदनशीलता, हातहतियार र खरखजानाको निर्माण तथा ओसारपसारमा नियन्त्रण,
  •     सीमा क्षेत्रको शान्तिसुरक्षा,
  •     छिमेकी राष्ट्रसँगको सुमधुर सम्बन्ध,
  •     अन्तर्राष्ट्रिय मामिलामा सुधार,
  •     आतंकवाद नियन्त्रणका लागि साझा प्रयत्न,
  •     इन्टरपोललगायतका मञ्चमा सक्रिय सहभागिता,
  •     मानव बेचबिखन तथा तस्करी नियन्त्रण,
  •     सतर्कता र प्रतिरक्षा योजना ।

निष्कर्ष
राष्ट्रिय सुरक्षा व्यवस्थापन भनेको राष्ट्रको सार्वभौमसत्ताको रक्षा गर्दै मानवीय, सामाजिक, सांस्कृतिक तथा आर्थिक तवरले राष्ट्रमा आउन सक्ने आन्तरिक र बाह्य चुनौतीको सामना गर्नु हो । त्यसैले यस क्षेत्रमा संलग्न व्यक्ति तथा जिम्मेवार निकायको क्षमता विकास गरी सबै नागरिक आफ्नो तथा राष्ट्रको सुरक्षाक्षेत्रप्रति संवेदनशील हुनुपर्ने देखिन्छ । तब मात्र राष्ट्रिय सुरक्षा व्यवस्थापन प्रभावकारी हुन्छ । श्रोत :नयापत्रिका


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments