कांग्रेस देउवा समूहले मंसिर १५-१६ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने
धनगढी । नेपाली कांग्रेसको देउवा समूहले मंसिर १५ र १६ गते सुदूरपश्चिम प्रदेश अधिवेशन गर्ने भएको छ। पूर्वसभापति शेरबहादुर देउवाको गृहप्रदेशमा हुन लागेको अधिवेशनलाई समूहले आगामी केन्द्रीय महाधिवेशनको तयारीका रूपमा अघि बढाएको हो।
देउवा समूहका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले शनिबार विज्ञप्ति जारी गर्दै कैलालीको धनगढीस्थित सौराइ स्क्वायरमा प्रदेश अधिवेशन आयोजना हुने जानकारी दिएका छन्।
विज्ञप्तिअनुसार सुदूरपश्चिमका नौवटै जिल्लाका वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेका छन्।
देउवा समूहले यसअघि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ‘१५औँ नियमित महाधिवेशन तयारी समिति’ गठन गरेको थियो।
समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारीसमेत अघि बढाएको छ।
पूर्वसभापति देउवाको गृहप्रदेश भएकाले सुदूरपश्चिम प्रदेश अधिवेशनलाई देउवा समूहको संगठनात्मक शक्ति र आगामी नेतृत्व समीकरणको दृष्टिले समेत महत्त्वपूर्ण रूपमा हेरिएको छ।





प्रतिकृया दिनुहोस