एनपीएलमा पोखराको कीर्तिमान : काठमान्डु विरुद्ध २२४ रन

 

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले प्रतियोगिताकै सर्वाधिक रनको कीर्तिमान बनाएको छ। आफ्नो लिग चरणको अन्तिम खेलमा पोखराले काठमान्डु गोर्खाजविरुद्ध निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२४ रन बनाएको हो। यो एनपीएल इतिहासकै अहिलेसम्मको सर्वाधिक योगफल हो।

यसअघि एनपीएलको दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध ६ विकेट गुमाएर २२० रन बनाएको थियो। पोखराले सोही कीर्तिमान चार रनले तोडेको हो। पोखराको विशाल योगफलमा कुशल भुर्तेलले ९९ रनको शानदार पारी खेले।

उनले ५१ बलमा ८ चौका र ८ छक्का प्रहार गरे। शतक बनाउन एक रनले चुकेका भुर्तेलले आक्रामक ब्याटिङ गर्दै पोखरालाई बलियो सुरुआत दिलाए। यस्तै, युवराज सामराले ५५ बलमा ८९ रन बनाए। उनले ८ चौका र ५ छक्का प्रहार गरे। अन्त्यतिर चमिका करुणारत्नेले ७ बलमा १९ रनको नटआउट पारी खेले।

करुणारत्नेले लगातार दुई छक्का प्रहार गर्दै पोखरालाई एनपीएलकै सर्वाधिक स्कोरको नयाँ कीर्तिमानसम्म पुर्‍याए। काठमान्डुका लागि करण केसीले दुई तथा जहानदाद खानले एक विकेट लिए।

पोखरा यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ। काठमान्डु भने प्लेअफमा स्थान सुरक्षित गरिसकेको टोली हो। पोखराले प्रतियोगिताबाट बाहिरिनुअघि कीर्तिमानी ब्याटिङ प्रदर्शन गर्दै एनपीएलको इतिहासमा आफ्नो नाम भने दर्ज गराएको छ।

प्रतिकृया दिनुहोस
↑