डेङ्गीे नियन्त्रणको लागि सिलगढीमा सरोकारवालासँग अभिमुखिकरण कार्यक्रम
रश्मि कुँवर,६असार,डोटी : डेङ्गी लगायत किटजन्य रोगहरुको नियन्त्रणको लागि सिलगढीमा सरोकारवालासँग अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
दिपायल सिलगढी नगरपालिकाको आयोजनामा (शुक्रवार)अभिमुखीकरण कार्यक्रम गरिएको हो । एइडीज प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी जस्ता किटजन्य रोगहरुको नियन्त्रणका लागि कार्यक्रम गरिएको नगरपालिकाले बताएको छ । वर्षामासमा सुरु भएसँगै डेङ्गीको प्रकोप पनि बढ्ने भएकाले यस्तो कार्यक्रमको आयोजना गरिएको दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख तेज खड्काले बताए ।
वर्षाको समयमा जताततै पानी जम्ने हुँदा डेङ्गी सार्ने प्रजातिका लामखुट्टेले फल पार्ने गर्दछन् । यस्तो अवस्थामा सावधानी अपनाउनु पर्ने दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजी सिंह खड्काले बताए । डेङ्गी फैलिनबाट रोक्नको लागि सचेतनाका कुराहरुमा ध्यान दिन नगरप्रमुख खड्काले अनुरोध गरेका छन् ।
डेङ्गी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल सङ्क्रमण हो । डेङ्गीको संक्रमण हुँदा अचानक ज्वरो आउँने, टाउको, जोर्नी, ढाड र पिँडुलाको मासु बेस्सरी दुख्ने, आँखाको गेडी खस्ला जस्तै हुने, खानै मन नलाग्ने र वाकवाकी लाग्ने जस्ता लक्षणहरू देखा पर्दछन् । विश्व स्वास्थ्य सङ्गठनले जनस्वास्थ्यको एउटा प्रमुख चुनौतीको रूपमा हेरेको डेङ्गी नेपालमा प्रायः मनसुन सुरु हुनुभन्दा अघिदेखि मनसुन सकिएसम्मै फैलिन्छ। कार्यक्रममा डेङ्गी लगायत किटजन्य रोगहरुका बारेमा स्वास्थ्य निर्देशनालय राजपुर डोटीका भेक्टर कन्ट्रोल निरीक्षक हेम राज जोशीले सहजीकरण गर्नु भएको थियो ।




प्रतिकृया दिनुहोस